चितवनको भरतपुर महानगरपालिका–१५ मा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सरसफाईको काम सुरु गरिएको छ । बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गर्नुको साथै संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा झाडी फाड्न सुरु गरिएको हो। सरसफाई अभियानको सुरुवात गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र बनेको रंगशाला निर्माणलाई छिट्टै निरन्तरता दिने बताएकी छिन्।

‘बागमती प्रदेश सरकारको सहयोगमा रंगशाला निर्माणका लागि ७५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यसमा महानगरपालिकाले ३० प्रतिशत राख्ने निर्णय छ’उनले भनिन् ‘अब छिट्टै टेण्डर आह्वान गरेर काम अगाडि बढाइन्छ ।’ उनले डिपिआरको काम अगाडि बढिसकेको बताइन् ।

बजेट अभावका कारण निर्माण कार्य अलपत्र नपर्ने समेत उनले दाबी गरेकी छिन्। ‘बागमती प्रदेशको बजेट छ । संघले यस रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरिसेको छ।केन्द्रले बजेट हाल्ने कुरामा दुविधा छैन,’ उनले भनिन् ‘प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र खेलकुद मन्त्रालयसंग पनि कुरा भएको छ काम अगाडि बढ्छ।’ सरसफाइपछि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता गर्ने योजना रहेको उनले बताईन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार