पश्चिम तराई गर्मीले आक्रान्त छ।
केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेर तातो लहर चलेको छ। बुधबार दिउँसो पश्चिम तराईका अधिकांश क्षेत्रहरूका तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कपिलवस्तुको तौलिहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस मापन भएको छ। दाङ, बाँकेको खजुरा र नेपालगञ्ज विमानस्थलको तापक्रम ४१.९ डिग्री सेल्सियस छ।
बर्दियामा ४१.३ डिग्री सेल्सियस, कैलालीको साढेपानीमा ४२.२ डिग्री सेल्सियस, धनगढीमा ४१.९ डिग्री सेल्सियस र कञ्चनपुरको दोधारामा ४०.१ डिग्री सेल्सियस तापक्रम छ।
पश्चिमको तराईको तुलनामा पूर्वी तराईमा तापक्रम केही कम छ। जनकपुर, गौर सिमरा लगायतका क्षेत्रमा ३८ डिग्री सेल्सियभन्दा बढी तापक्रम छ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा तातो हावा चल्ने पूर्वानुमान गरेको छ।
मौसमविद गोविन्द झाका अनुसार हावामा जलवाष्पको मात्रा कम हुँदा तातो हावा चल्छ। निश्चित ठाउँको निश्चित अवधिको तापक्रम औसतभन्दा बढी भइरह्यो भने त्यहाँ तातो हावा चलेको मानिन्छ।
नेपालमा कुनै ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहिरह्यो भने महाशाखाले त्यहाँ तातो हावा चलेको घोषणा गर्दै सतर्क गराउँछ।
‘यो देश र भूगोलअनुसार फरक-फरक हुन्छ। ४० डिग्री सेल्सियस तापक्रम लगातार तीन दिनसम्म कट्यो भने तेस्रो दिन तातो लहर भयो भन्छौं,’ उनले भने।
उल्लेखनीय प्रणाली नहुनु, तापक्रम बढ्दै जानु, बादल नबन्नु, पानी पर्ने सम्भावना नहुने लगायत तातो हावा चल्नुका कारण हुन्। यो तराईमा मात्रै चल्छ भन्ने होइन। ‘कहिलेकाहीँ उपत्यकामा र पहाडी क्षेत्रहरूमा पनि चल्न सक्छ,’ झाले भने।
उनकाअनुसार तीन दिन तातो हावा चल्छ भन्नु तीन दिन लगातार चलिरहने भनिएको हो।
‘सो अवधिमा बिहान ५:४५ मा हावाको तापक्रम सबैभन्दा कम हुन्छ। सूर्योदय भएपछि बढ्दै जान्छ, अपराह्नमा सबैभन्दा बढी तापक्रम हुन्छ। अपराह्नपछि तापक्रम घट्छ तर तातो हावा चलिरहन्छ,’ उनले भने।
तातो हावाले के-कस्ता समस्या निम्त्याउँछ र त्यसबाट जोगिन के गर्ने विषयमा हामीले जनस्वास्थ्यविद डा. समीरमणि दीक्षितसँग कुराकानी गरेका छौं।
उनकाअनुसार तातो हावाका कारण जमिन तात्ने र पानी नपर्ने भएपछि मान्छेलाई यसले नराम्रो असर गर्छ। तातो हावाको अनुभव मानव शरीरले पनि गर्न सक्ने उनी बताउँछन्। बाहिर हिँड्दा शरीर आगोले पोलेको जस्तो भतभती हुने भयो भने तातो हावा चल्यो भनेर बुझ्न सकिन्छ।
यसले कस्ता समस्या निम्त्याउँछन्?
दिक्षितका अनुसार हाम्रो शरीरका अंग र कोष-कोषिकामा पानी हुन्छ। गर्मीका कारण कोषिकामा पानी सुक्दै जान्छ। पानी सुक्दै गएपछि कोषिकामा समस्या आउन सक्छ। मुटु, मृगौला, कलेजो, आँखा सबैमा कोषिका हुन्छ। पानी कम भएपछि हरेक अंगमा समस्या आउन थाल्छ र ती अंगहरूले आफ्नो काम गर्न छोड्नेसमेत हुन सक्छ।
‘अत्यधिक गर्मी भनेको शरीरका लागि डरलाग्दो विषय नै हो। शरीरका अंगमा पानीको मात्रा सुकेपछि ती अंगले काम गर्न छोड्छन्। त्यसले जहाँ-जहाँ पानी सुक्छ त्यहाँ-त्यहाँ अप्ठ्यारो पर्दै जान्छ,’ उनले भने।
छालाले केही समय चरम चिसो र चरम गर्मी थेग्न सकेपनि अत्यधिक गर्मीमा लामो समय बस्दा छाला मर्न थाल्छ। छाला सुक्नासाथ राम्ररी काम गर्न छाड्छ र घामका विकीरणहरूबाट बँचाउने जुन काम हो उसले गर्न सक्दैन। छालाभित्र प्वाल पर्न सक्छ।
शरीरका विभिन्न अंगमा पानीको मात्रा कम भएपछि ती अंगहरूले आफूलाई चाहिने पानी शरीरका अन्य पानी भएका ठाउँहरूबाट तान्न थाल्छ। त्यस्तो भइरहेको अवस्थामा पानी नै नरहने अवस्था आउन सक्छ।
‘त्यसो हुँदा अंग फेलियरमा जान सक्छ। त्यहाँ भएका नुनजन्य पदार्थहरू सुक्न थाल्छ त्यसले कोष कोषिकालाई ब्लक पनि गर्न सक्छ,’ दीक्षितले भने।
तातो हावाबाट जोगिन के गर्ने?
दीक्षितका अनुसार तातो हावा चलेको समयमा घर बाहिर ननिस्कने र शरीरमा पानीको अभाव हुन नदिनू नै तातो हावाबाट बच्ने उपाय हो।
शीतलमा बस्ने, पानी खाइरहने, छालालाई भिजाइराख्ने, हावा चल्ने ठाउँमा बस्ने गर्नुपर्छ। ‘छालालाई मात्रै असर गर्ने भएको भए नुहाउँदा मात्रै पनि हुन्थ्यो। भित्री भागमा पनि असर गर्ने भएकाले पर्याप्त पानी पिउनु अत्यावश्यक हुन्छ,’ उनले भने।
घरमा एसी, फ्यान छन् भने चलाइराख्नुपर्छ। त्यस्तो सुविधा नभएका मानिसहरूले छहारी र हावा पास हुने घरमा बस्नुपर्ने दीक्षितले बताए।
तराईका पुराना घरहरू गर्मीका लागि उचित हुने उनले बताए।
‘हावा वारपार हुन्छन्। गुम्सिन पाउँदैन। शरीरमा पानीको मात्रा पर्याप्त हुँदा र हावा वारपार हुने छहारीयुक्त घरहरू सुरक्षित मानिन्छ। टिनको छानो भएको घरमा नबनस्न भन्छौं,’ उनले भने।
गर्मीका कारण शरीरबाट पसिनासँगै नुनको मात्रा पनि गइरहेको हुन्छ। शरीरमा सन्तुलित मात्रामा नुन पनि आवश्यक रहन्छ। त्यसैले नुन, चिनी, पानीको घोल पनि बेलाबेला पिउनुपर्ने डा. दीक्षित बताउँछन्। ‘नुन पनि ठिक्क मात्रामा खानुपर्छ। धेरै खाँदा फेरि शरीरले पानी सोसेर डिहाइड्रेसन हुन सक्छ,’ उनले भने।
तातो हावा चल्दा खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ। धेरै सुक्खा खानेकुरा नखाने, फलफूल प्रशस्त खाने, दाल तरकारी खाने गर्नुपर्छ। ‘शरीरमा पहिल्यै पानीको मात्रा कम हुन्छ। सुक्खा खानेकुरा पचाउन थप पानी चाहिन्छ। सेकुवा सकेसम्म नखाएकै राम्रो हुन्छ,’ उनले भने।
अत्यधिक गर्मीमा धेरै कसरत गर्नु पनि राम्रो नहुने दीक्षित बताउँछन्। ‘त्यसै पनि पसिना आउँछ, कसरत गर्दा अझै बढी पसिना जाने हुँदा शरीरमा पानीको मात्रा कम हुन सक्छ। कसरत बिहान कि बेलुका गर्नपर्छ तर कहिलेकाँही,’ उनले भने।
त्यस्तै टि-सर्ट र हाफ पाइन्टमात्रै लगाएर हिँड्नुहुँदैन। बाहिर निस्कनै परे पूरै जिउ र टाउको ढाकिने कपडा लगाएर हिँड्नुपर्छ। ‘गर्मीले हिर्कायो भने लामो समयसम्म बिरामी पार्न सक्छ। स्किन क्यान्सर हुन सक्छ,’ उनले भने।
गर्मीमा चिसो मदिरा र कफी पिउनै नहुने डा. दिक्षित बताउँछन्। ‘गर्मीमा चिसो बियर पिउने, आइस राखेर ह्वीस्की पिउने केही युवाहरूमा बानी नै हुन्छ। यसले शरीरलाई डिहाइड्रेट गराउँछ,’ उनले भने, ‘कफीले पनि त्यस्तै गर्छ।’
तातो हावाले साना बालबच्चा र वृद्धवृद्धालाई पनि अरूलाई भन्दा बढी असर गर्छ। बालबच्चाहरू धेरै दौडिने खेल्ने गर्दा उनीहरूको शरीर बढी सक्रिय हुन्छ र पानीको मात्रा कम हुन जान सक्छ।
वृद्धवृद्धाहरुको सक्रियता कम भएपनि उनीहरूमा विभिन्न रोग र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले तातो हावाले असर गर्छ।
त्यसकारण उनीहरूलाई पनि पानी खुवाइराख्नुपर्ने डा. दिक्षित बताउँछन्। तातो हावाका कारण रिँगाटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, पिनासजस्तो पनि हुन्छ कसैलाई नाकभित्रको भाग सुक्न थालेर, आँखा ड्राइ हुने लगायतका समस्याहरू देखिने उनले बताए।
‘तातो हावाबाट बँच्ने उपाय शरीरलाई पर्याप्त मात्रामा पानीको परिपूर्ति गराउनु मुख्य हो,’ उनले भने।