नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको थियो। नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो।
महाशाखाले ती दुई ठाउँमा आज पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेको छ।
महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको पूर्वानुमान अनुसार धनगढीको अधिकतम तापक्रम आज पनि ४३.३ डिग्री सेल्सियस र नेपालगञ्जको तापक्रम ४२.८ रहनेछ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार धनगढीमा वर्षकै बढी गर्मी हो।
अघिल्लो वर्षको यही याममा ४१.६ डिग्री सेल्सियस तापक्रम पुगेको थियो भने सन् २०२३ मा ४० डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि सन् २०२१ जुन १४ मा ४४.२ डिग्री सेल्सियस मापन भएको थियो।
धनगढीमा अहिलेसम्मकै गर्मी सन् १९९५को जुन १६ मा मापन भएको मौसमविद् अधिकारी बताउँछन्। उनकाअनुसार त्यतिबेला ४६.४ डिग्री तापमान भएको महाशाखाको रेकर्डमा छ।
पश्चिम तराईका जिल्लाहरूमा पर्सीसम्म तापक्रम ४० भन्दा माथि रहने पूर्वानुमान गरिएको छ।
पर्सीबाट भने बादलहरू आउने भएकाले केही राहत हुनसक्ने मौसमविद अधिकारी बताउँछन्।
‘ठूलो पानी नपरेपनि बादल आउने सम्भावना छ। त्यसले तापक्रम केही घटाउन सक्छ,’ उनले भने।
मध्य र पूर्वी तराईका जिल्लाहरूमा भने तुलनात्मक रूपमा तापक्रम केही कम छ।
बुधबार भैरहवाको अधिकतम तापक्रम ३९.७ डिग्री सेल्सियस मापन भएको थियो। त्यहाँको न्यूनतम तापक्रम २८ डिग्री मापन भएको थियो।
सिमराको अधिकतम तापक्रम ३९.७ डिग्री सेल्सियस मापन भएको थियो। त्यहाँको न्यूनतम तापक्रम २७.५ डिग्री सेल्सियस मापन भएको थियो। विराटनगरको अधिकतम तापक्रम ३६.६ र न्यूनतम तापक्रम २८.८ मापन भएको थियो।
बिहीबार ती ठाउँहरुको तापक्रम बुधबारकै हाराहारीमा रहने पूर्वानुमान छ।
मौसमविद अधिकारीका अनुसार अधिकतम तापक्रम र न्यूनतम तापक्रमबीच धेरै फरक नहुँदा अझै गर्मी महशुस हुन्छ।
‘अधिकतम तापक्रम बढी भएमा ठाउँमा न्यूनतम तापक्रम कम छ भने कम गर्मी महशुस हुन सक्छ। तर न्यूनतम तापक्र र अधिकतम तापक्रमबीच केहीमात्र फरक छ भने हुप्प हुने र गर्मी बढी हुन्छ,’ उनले भने।
अधिकतम तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी वा सो हाराहारीमा रहेका स्थानहरूमा न्यूनतम तापक्रम पनि ३० डिग्री वा सो हाराहारीमा छ।
धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुरको न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ।
महाशाखाले तराईका भूभागमा तातो हावा चल्ने पूर्वानुमान गर्दै सतर्क रहनसमेत भनिसकेको छ।