आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको पाइएको छ ।

केन्द्रले बुधबार स्थानीय पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार चालू आर्थिक वर्षको छ महिनामा २४ हजार तीन जना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात हजार ७९१ जनाले सेवा लिएका छन् ।

यसैगरी, योग सेवा दुई हजार ६१०, पूर्वकम/पञ्चकर्म सेवा पाँच हजार ५२७, ज्येष्ठ नागरिक सेवा एक हजार ९७५, स्तनपान आमा तथा शिशुसेवा १२०, नागरिक आरोग्य स्वास्थ्य सेवा दुई हजार ७७९, प्रयोगशाला सेवा दुई हजार ५४४, अकुपञ्चर सेवा ३३५, फिजियोथेरापी सेवा २८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले डा. कोपिला अधिकारीले जानकारी दिइन् ।

गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको संख्या ४९ हजार ५१३ थियो । केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्रहरु र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ । भरतपुरको शिवघाट, देवघाट, गुञ्जनगर, पटिहानी, मेघौली र डालेटारमा आयुर्वेद औषधालय रहेका छन् । यसका अतिरिक्त माडी र राप्तीको वीरेन्द्रनगरमा यी सेवा रहेका छन् ।

कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा नागरिक आरोग्यसेवा केन्द्रहरु सञ्चालनमा छन् ।

केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको डा. कोपिला अधिकारीले जानकारी दिइन् ।

केन्द्रले नमुना जडीबुटी उद्यान निर्माण, विद्युत् आयुर्वेद तथा योग शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, नागरिक आरोग्यसेवा तथा अभियान, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनजस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद औषधि उपचारको व्यापक प्रचारप्रसार गर्नसकेमा यसले मानवस्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । केन्द्रको भौतिक पूर्वाधार र सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको उनको भनाइ छ ।

केन्द्रलाई आगामी साउनदेखि २५ शøयाको अस्पतालको रुपमा विकास गरिँदै छ । हाल केन्द्रको अस्पताल भवन निर्माणाधीन छ । यससँगै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप हुने र अन्तरङ्ग सेवा सुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार