२५ भाद्र २०८१, मंगलवार

रत्ननगर वडा नं १६ का विपन्न किसानलाई बाख्रा वितरण

रत्ननगर । बाख्रापालन मार्फत आयआर्जन सृजना गर्ने उद्देश्यले रत्ननगर नगरपालिका वडा नं १६ ले वडाभित्रका विपन्न परिवारलाई मंगलबार बाख्रा वितरण गरेको छ । व्यवसायिक रुपमा बाख्रापालनको सुरुवात गरी आयआर्जत तथा रोनगारी सृजना गर्न वडा भित्रका ३४ जना विपन्न किसानलाई उन्नतजातको ब्याउने बाख्रा वितरण गरिएको हो । मंगलबार वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच छनौटमा परेका ३४ जनालाई बाख्रा वितरण गरिएको छ । रत्ननगर नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि साहेन्द्रराज खरेल र वडा नं १६ का वडाध्यक्ष हेमराज थापाले किसानहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष थापाले बाख्रापालन मार्फत आयआर्जनको लागि अतिविपन्न किसानको पहिचान गरी ब्याउने बाख्रा प्रदान गरिएको बताए । कोही भर्खरै बच्चा जम्माएका बाख्रा छन् उनले भने अधिकाँस ब्याउने बाख्रा प्रदान गरिएको छ । वडाध्यक्ष थापाले व्यवसायिक रुपमा बाख्रापानको सुरुवातको लागि बिउपूँजिका रुपमा ब्याउने बाख्रा प्रदान गरिएको बताए । कृषि र पशुपालन मार्फत गरिवी निबारण गर्ने लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले वडाभित्रका किसानलाई अब्बल बनाएर आत्मनिर्भर बनाउने योजना रहेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक खरेलले कृषि र पशुपालन मार्फत किसानको जीवन स्तर उकास्ने योजनाका साथ नगरपालिकाले नगानी गरिरहेको बताए । पिठुवा पशुसेवा केन्द्रका प्रमुख सुन्दर बस्नेतले सतप्रतिशत अनुदानमा किसानलाई बाख्रा प्रदान गरिएको भन्दै पाँच महिना भित्र नयाँ जन्मिएको एउटा पाठी वडाकार्यालयलाई बुझाउनुपर्ने लगायतका सर्त राखिएको बताए । अहिले बाख्राको माउ पाएका किसानले एउटा पाठी वडाकार्यालयलाीई बुझाउनु पर्ने र सोही पाठी फेरी अर्को किसानलाई वितरण गर्ने दीर्घकालिन योजना रहेको बताए । वडा सचिव मन्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, नेपाली कांग्रेसका वडा सभापति देब राना, पशुविकास अधिकृत शालिग्राम पौडेल, बाख्रा वितरण उपभोक्ता समितिकी अध्यक्ष मीना सिंखडा, किसान अस्मिता भट्ट लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.